साफ गेमका स्वर्ण विजेतालाई सम्मान गर्ने कांग्रेस खेलकुद विभागकाे निर्णय

खेलकुद
SHARE:

ललितपुर/७ साउन, नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागकाे पहिलो बैठकले गरेका १३ वटा निर्णयहरु सार्वजनिक गरिएको छ। कांग्रेस केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख माेहनबहादुर बस्नेतले नेपाली कांग्रेस खेलकुद विभागद्वारा मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयाेजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेका हुन्।
कांग्रेसकाे खेलकुद विभागले खेलकुद क्षेत्रको बृहत्तर विकासलाई ध्यानमा राखेर गत १३औं साग खेलका स्वर्ण पदक विजेताहरूलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ ।

विभागको पहिलो बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार सानेपास्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा संयोजक मोहनबहादुर बस्नेतले सागगेमका पदक विजेतालाई यथाशीघ्र कार्यक्रम गरी नगदसहित सम्मान गर्ने जानकारी दिए ।

‘टोकियो ओलम्पिक २०२१ मा नेपालको तर्फबाट सहभागी हुने खेलाडी र प्रशिक्षकहरूको कोरोना बीमा गरिदिने यो बैठकले निर्णय गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘यसको अतिरिक्त २०२१ को ओलम्पिक खेलको तयारी र सहभागिता सम्बन्धमा तथा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडीहरूको खेल सहभागिताका लागि गरिने तयारी कोरोनाको सुरक्षा र सावधानी अप्नाउँदै प्रशिक्षण संचालन गर्न सरकारसँग माग गर्ने निर्णय गर्दछ ।’

‘नेपाली कांग्रेस केन्द्रीय सभापतिको नाममा हरेक वर्ष राष्ट्रियस्तरीय सभापति कप फुटबल प्रयोगिता संचालन गर्ने निर्णय गर्दछ’, विभागका सचिव मीनकृष्ण महर्जनले भनेका छन् ।

‘नेपाल लोकतान्त्रिक खेलकुद संघले केन्द्रीय कार्यसमितिमा पारित गर्न पेश गरेको विधानलाई आवश्यक कारबाहीका लागि अनुरोध गर्ने निर्णय गरियो’, विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाली कांग्रेससँग आवद्ध खेलाडी र खेल क्षेत्रका संघ संस्थाहरूलाई कोरोना भाइरस र प्राकृतिक विपत्तीबाट नेपाली दिदी बहिनी, दाजु भाईहरुलाई जोगाउन सहयोग पुग्ने कार्यहरू गर्ने गराउन परिचालन गर्ने निर्णय गरियो’, विभागले भनेको छ ।

‘खेल क्षेत्रमा नयाँ प्रतिभाहरु जन्माउन र भएकाहरुलाई क्रियाशील गराउन विभिन्न विधाका खेलहरूका प्रशिक्षकहरूको व्यवस्था गरी क्रमशः वडा तहसम्म खेलकुद गतिविधि संचालन गर्ने वातावरण मिलाई दिने निर्णय गरियो’, विज्ञप्तिमा भनिएको छ ।

‘नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा नेपाली जनता र राष्ट्रको पक्षमा रगत र पसिना बगाएर निम्न लिखित प्रजातन्त्रवादी स्वर्गीय नेताहरूको सम्मानमा राष्ट्रियस्तरीय, प्रादेशिकस्तरीय र स्थानीयस्तरीयमा विभिन्न विधाका हरेक वर्ष खेलकुद प्रतियोगिताहरू संचालन गर्ने निर्णय गरिएको छ’, विभागले भनेको छ ।

‘स्व. वीपी कोइराला, सुवर्ण शम्शेर राणा, स्व. गणेशमान सिंह, स्व. कृष्णप्रसाद भट्टराई, स्व. गिरिजाप्रसाद कोइराला, स्व. सुशील कोइराला, स्व. महेन्द्रनारायण निधि, स्व. मंगलादेवी सिंह, स्व. शैलजा आचार्य, स्व. धनमान सिंह परियार, स्व. खुमबहादुर खड्का, स्व. शेख इद्रिस, स्व. बलबहादुर राई, स्व. बखानसिं गुरुङ्ग, स्व. योगेन्द्र मान शेरचन, स्व, भीमबहादुर तामाङ, स्व. राधा कृष्ण चौधरी, स्व. श्रीमती द्वारिका देवी ठकुरानी, स्व. भू विक्रम नेम्वाङ्ग, शहीद लखन थापा मगरको नाममा खेलकुद प्रतियोगिता गर्ने विभागले जनाएको छ ।

‘राष्ट्रिय खेलकुद परिषदमा कार्यरत कर्मचारीहरुको १३ वर्षदेखि २४ वर्षसम्म सेवा अवधि पार गरेका कर्मचारीहरूको पदोन्नति नगरी कर्मचारीको वृत्ति विकासमा आँच पुयाएको हुनाले निजहरूको बढुवा प्रकृया अगाडि बढाउन माग गर्ने निर्णय गरियो’, विज्ञप्तिमा भनिएको छ ।

‘नेपालको संविधानको भावना र मर्मविपरित ओलम्पिक कमिटीले विदेशीहरूको सहायता लिँदा सरकारको स्वीकृति लिनुनपर्ने जुन ऐन ल्याएको छ, त्यसको खारेजीको माग गर्ने’, विभागले भनेको छ ।

‘नेपालमा भएको १३ औं साग खेल र नेपालगञ्जमा भएको ८ औं वृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा भए गरेका खर्चहरूको हिसाव पारदर्शी गर्न माग गर्ने’, विभागले भनेको छ ।

‘नेपाल ओलम्पिक कमिटी र भारतीय टी.भी. च्यानलहरूबीच भएको १३ औं सागका गतिविधि प्रशारण सम्बन्धी भएको करोडौं रुपैयाँको सम्झौता भएको रकमको हिसाव किताव सार्वजनिक गर्न माग गर्ने निर्णय गरियो’, विभागका सचिव महर्जनले भनेका छन् ।

‘खेलकुद संघ दर्ता सम्बन्धी अव्यवहारिक र पक्षपातपूर्ण व्यवहार सच्याउनुपर्ने’, विज्ञप्तिमा भनिएको छ, ‘अव्यवहारिक सम्बन्धनको झन्झट खारेज गर्नुपर्ने माग गर्ने ।’

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *