एक पछि अर्को जटिलता थपिदा नेकपामा विवाद चुँलिदो, केन्द्रीय कमिटी बैठक अनिश्चित

राजनीति
SHARE:

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनः विवादमा अल्झिएको छ । पार्टीभित्र बढ्दो विवादसँगै कोरोना महामारीको बहानामा कात्तिक १५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक पनि अनिश्चित भएको छ ।

नेकपामा यतिवेला भित्र-भित्रै अधिकारकै बाँडफाँटको कुरालाई लिएर भुसको आगो जसरी विवाद बढ्न थालेको छ । भदौ २६ गते सकिएको नेकपा स्थायी कमिटी बैठकले कात्तिक १५ गतेदेखि १७ गतेसम्मका लागि केन्द्रीय कमिटी बैठकको मिति तय गरेको थियो ।

यसलाई सचिवालय बैठकले पनि अनुमोदन गरेको थियो । तर, अध्यक्षद्वयबीच पुनः चिसोपना बढेपछि नेकपाको ठूलो इकाई केन्द्रीय कमिटी अनिश्चित जस्तै बनेको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफू अल्पमतमा पर्ने भयका कारण बैठक अनिश्चित पारेको अर्का अध्यक्ष पुष्पकमल दाहाल निकटहरु बताउँछन् ।

अध्यक्ष ओली कोरोना महामारीलाई देखाउँदै बैठक नबोलाउने पक्षमा उभिएका छन् । दुई अध्यक्षबीच अधिकार बाँडफाँटकै विषयमा पुनः विवादका रेखाहरु कोरिन थालेका छन् । सरकार र पार्टीबीच कतिपय विषयमा भिन्न मत रहेका छन् ।

वक्तव्यबाजी पनि चल्न थालेको छ । पछिल्लो परिस्थितिमा पुनः अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालहरु एक ठाउँमा देखिएका छन् ।

नेकपाका पछिल्ला विवादः

  • –राजदूत सिफारिस र मुख्यसचिव नियुक्तिमा
  • –मन्त्रीमण्डल पुनर्गठन
  • –कर्णाली प्रदेशको राजनीतिक विवाद
  • –पर्साको स्थानीय कमिटीको विवाद
  • –प्रधानमन्त्रीले भारतीय ‘रअ’ प्रमुखलाई भेटेको प्रसंग

प्रधानमन्त्रीले असोज १५ गते राजदूत सिफारिस र मुख्यसचिव नियुक्त गरेपछि नेकपामा पुनः विवाद चर्कियो । त्यसैबेला बोलाइएको सचिवालय बैठक अनिश्चित बन्यो ।
बल्लतल्ल असोज २० गते बोलाइएको सचिवालय बैठकले ठोस निर्णय गर्न सकेन । अध्यक्षद्वयलाई मन्त्रिमण्डल पुनर्गठनका लागि म्यान्डेट दिइएपनि कुरा नमिलेपछि प्रधानमन्त्री ओलीले एकलौटी ढंगबाट मन्त्री नियुक्ति र जिम्मेवारी हेरफेर गरेका थिए ।
यहाँबाट अध्यक्षद्वयबीच विवाद चुलियो । त्यस लगतै कर्णाली प्रदेशमा पूर्वमाओवादी नेता रहेका महेन्द्रबहादुर शाहीलाई ओली निकट नेता यमलाल कँडेलको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि दुई अध्यक्षबीचको विवाद सतहमा देखियो ।

दुबै अध्यक्षले फरक–फरक निर्देशन जारी गर्दै पत्राचार नै गरे । अध्यक्ष ओलीले मुख्यमन्त्री शाहीलाई प्रमुख सचेतक हटाउने लगायतका निर्णय नगर्न पत्राचार गरे भने अध्यक्ष दाहालले कँडेल समूहलाई अविश्वासका प्रस्ताव फिर्ता लिन निर्देशन दिए ।

यो विवाद जारी रहँदै गर्दा पर्सा विन्दवासीनी गाउँपालिकामा पार्टी कमिटी सदस्यहरुबीचको झडपमा वडा सचिवको मृत्युपछि कारवाही गर्न अध्यक्ष दाहालले सरकारसँग माग गरेको पत्र सार्वजनिक भयो ।

पछिल्लो पटक आइपुग्दा भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई प्रधानमन्त्रीले भेट गरेकोमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नै असन्तुष्टि जनाए । यसले पनि अध्यक्षद्वयबीचको बढ्दो विवादलाई थप मलजल ग-यो ।

अहिले अध्यक्षद्वयबीच छलफल नै हुन नसकेको दुबै पक्षले उल्लेख गरेका छन् । अध्यक्षद्वयबीचको विवादले केन्द्रीय कमिटी बैठक मात्र होइन, एकताको महाधिवेशन नै प्रभावित हुने नेकपावृत्तमा चर्चा रहेको छ । News24nepal

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *