काभ्रे जिल्लाको दोस्रो अग्लो डाडामा रहेको भूमीचुली मन्दिर पर्यटनको पखाईमा ।

समाचार
SHARE:

साधुराम रानामगर, १. परिचय । काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका वडा नं. ९ को सर्बोच्च स्थान भूमीचुली डाडा हो । सुन्दर महाभारत पर्वत श्रृखलाको विभिन्न चुलीहरु मध्ये भुमीचुली पनि एक प्रसिद्ध चुली हो । ‘भूमी’ को अर्थ जमिन वा पृथ्वी हो भने ‘चुली’ को अर्थ उच्च स्थान वा चुचुरो भन्ने हुन्छ । यसर्थ भूमीचुली भनेको पृथ्बीको उच्च स्थान, जमिन वा चुचुरो हो । यहि भूमीचुली शब्द अप्रभम्स भई भूमेचुली हुन गएको हो । अहिले यस चुलीलाई भूमेचुली भन्ने चिनिन्छ । भूमीचुलीको उचाई करीब २५०० मिटर (८३२५ फिट) अग्लो रहेको छ । यस भूमीचुलीको पूर्वमा थाप्ले चुली र पश्चिममा बज्रचुली रहेका छन् । उत्तरमा रोशी ९ को रजबास रहेको छ भने दक्षिणमा महाभारत गाउँपालिका रहेको छ । भूमीचुली विश्व मानचित्रमा २७.२६ डिग्री उत्तरी अक्षांश र ८५.४१ डिग्री पूर्वी देशान्तरमा अबस्थित छ । काभ्रे जिल्लाको सदरमुकाम धुलिखेलबाट पूर्वमा बि.पी. राजमार्गको ३५ किलोमिटर दुरी पार गरेपछि नार्के बजार नजिकैको बुद्धचोकबाट करिब १४ किलोमिटर दक्षिणतिरको उकालो मोटर बाटोहुदै भूमीचुली सहजै पुग्न सकिन्छ । नार्के बजारबाट करिब ४ घण्टाको पैदल यात्राबाट पनि भूमीचुली पुग्न सकिन्छ ।
२. भूमीचुलीको महत्व
२.१ भूमीचुलीको धार्मिक महत्व
भूमीचुली भनेको पृथ्बीको उच्च स्थान, जमिन वा चुचुरो भएकोले यो यस आसपासको भू भागको शिरको रुपमा रहेकोले यस क्षेत्रका मानिसहरुले भूमीचुलीको बडो आदर गर्ने गर्दछन् । जसरी मानिसहरुले शिरलाई पुज्दछ त्यसरी नै भूमीचुलीलाई पनि भूमीको शिरको रुपमा पुज्ने गर्दछन् । भूमी भनेको जननी हो जहाँ सबै जीबहरुको उत्पत्ति हुन्छ । यसैको प्रतिकको रुपमा परापूर्व कालदेखि नै यस स्थानमा भूमीदेवीको थान स्थापना गरी पूजा गर्ने गरिएको छ । धामीझाँव्रmी तथा बुढापाकाहरुको भनाई अनुसार यस भूमीथानको नाम सिंहादेवी गुरुजन भूमी हो ।
बुढापाका अग्रजहरुको भनाइअनुसार भूमीथानको उत्पत्तिको बारेमा निम्नअनुसार किंबदन्ति रहेको बताउनुभएका छन् । रोशी ९, रजबासका समासेवी एवं अग्रज स्व. ढुण्डराज चितौरेमगर (बि.सं. २०१३–२०७६) को भनाई अनुसार परापूर्व समयमा रजबासको एकजना गोठालो गिठा भ्याकुर खोज्दै, गाइगोरु चराउदै भूमीचुलीमा पुगेको र पानी परेको कारणले हालको भूमीथानको ओडारमा भूमीथानकै शीलामाथी बसेर हँसियाले ढुङ्गामा ट्वाक ट्वाक हानी रहँदा उक्त शीलाबाट रगत आएकोले त्याहाबाट उठेर डराउदै घर आएको र सपनामा उनलाई देवीले दर्शन दिई भूमीचुलीमा मेरो शीलामा पूजा गर्नु सबैलाई लाभ हुन्छ भनेपछि भोलिपल्ट गाउँमा सल्लाह गरी पूजा गर्न शुरु गरिएको थियो । जुन दिन बैशाख पूर्णिमा परेको कुरा बताउनु भएको थियो । सोही दिनको सम्झनामा हाल पनि बैशाख पूर्णिमाको दिन भूमीथानमा विशेष पूजा गर्ने चलन रहेको छ । पूजा गर्न थालेपछि गाईबस्तुको बृद्धि हुदै गएको र समयमै गोठ फर्कने र गोठालालाई दुःख हुन छोडेर बताईएको छ । यदि कहिलेकाही गाईगोरु नभेटेमा वा ढिलो गोठ फर्कने भएमा भूमीथानमा लठ्ठी चढाएमा समयमै गाइगोरु गोठ फर्कने गर्दथ्यो । यसै मान्यता अनुसार हाल पनि वनमा चराउन लगेको बस्तु हराएमा, नफर्केमा भूमीचुलीको भूमीथानमा लठ्ठी चढाउने प्रचलन रहेको छ । यसका साथै मानिसहरु गाउँभन्दा टाढा यात्रामा जाँदा पनि भूमीथानलाई सम्झीएर जाने चलन रहेको छ । त्यसैगरी कहि कतै बस्तु चौपाया लान ल्याउनु पर्दा पनि भूमीथानलाई धुपबत्ति चढाउने चलन रहेको छ ।

त्यसैगरी रोशी ९, सल्लेनीका अर्का बुढापाका अग्रज स्व. दिलबहादुर पुलामी मगरको भनाई अनुसार परापूर्वकालमा भूमीचुलीको ओडारमा दुईजना बुढाबुढी बस्दथ्यो । बुढा तान्त्रिक विद्याका धेरै ज्ञाता धामी थिए । एक दिन आफ्नो बुढीले मासु खाने इच्छा गरेपछि बुढाले बाघ बनेर सिकार गर्न जाने निधो गरे । यो कुरा बुढीलाई सुनाए र सिकार लिएर आएपछि फेरी मान्छे हुन आपैmले मन्त्रबाट जपी राखेको अक्षतापाती आफ्नो शरीरमा पर्नेगरी छरीदिनु भनी अक्षतापाती बुढीलाई दिइ सिकाएर बुढा सेतो बाघ बनी सिकार गर्न गए । सिकार गरेर कुनै जनावर लिएर गर्जदै घरमा आउदै गर्दा बुढी डराउन थाली । सिकार ल्याएर अगाडी राखी अक्षतापाती छर्कीदियोस भनि पर्खाइमा बसीरहँदा बुढी डराएर हातमा भएको अक्षतापाती आगोमा फ्याकेर भागी गए । बाघको स्वरुपमा रहेको बुढाले योकुरा देखि लौ बित्यास प¥यो भनि अक्षता झिक्न भनि दाहिने हात आगोमा हाल्दा उनको कान्छी औँला डढेको र अक्षतापाती नभएकोले उनी बाघकै रुपमा जंगल विहार गर्दै त्यहि ओडारमा रहन थाले । यसरी बाघ रहने ओडारमा मानिस आउन लागेको संकेत पाउना साथ बाघले स्थान छोडिदिन्थ्यो । यसरी बिभिन्न समयमा गोठालो त्याहाँ जाँदा बाघ सुतेको तातो रहेको पाउथ्यो । एक दिन गोठालालाई सपनामा भूमीचुलीको ओडारको शीलामा पूजा गर्नु राम्रो हुनेछ भनि आवाज दिएपछि त्यहा पूजा गर्न थालेको बिश्वास गरिन्छ । यसरी दाहिने गोडाको कान्छी औँला डढेपछि अगाडीको दाहिने पञ्जाको छाप चार औँलाको मात्र हुन गयो । हाल पनि कहिले काँहि जंगलमा चार औँला भएको बाघको पञ्जाको छाप भेटेमा भुमे बाघ हिडेको रहेछ भनि भन्दछन् । यदि कहिलेकाही पूजारीले पूजामा चोखोनिदो नगरेमा भूमे रिसाउने र गाउँका पशुचौपायमा बाघले हानी पु¥याउँछ भन्ने जनबिश्वास रहेको छ । यस्ता विभिन्ना घटनाहरुको प्रत्यक्षदर्शी यस गाउँका अग्रजहरु आज पनि हुनुहुन्छ ।
यसैगरी भूमीथानमा पूजा गर्न रोशी ९, रजबास तथा यस आसपासका अन्य गाउँका मानिसहरुले विशेषतः मगर समूदायका निश्चत ब्यक्ति (विशेष गरी कुमार केटा) लाई पुजारी चयन गरी प्रत्येक पूर्णिमा र औसीमा सबै घरधुरीबाट धुप र अक्षता संकलन गरी भूमीदेवीको पूजा गर्ने परम्परा हालसम्म पनि चलिआएको छ । स्मरणिय कुरा रजबास र पानन्चेमा अहिले सम्म भूमीथानको पूजा गर्न मगर जाती बाहेक अन्य जाती पूजारी भएको इतिहास छैन । यसै सन्दर्भमा जुझारु युवासमाजसेवी श्री डिल्ली प्रसाद रेग्मीले भन्नुहुन्छ हाम्रो बाजे छबिलाल रेग्मीले भन्नुहुन्थ्यो सपनामा मगर केटालाई देख्यो भूमे देखेको हुन्छ । यस्तो सपना देखेमा भूमेको पूजा गर्नु पर्छ । यसरी नै यस आसपासको विभिन्न गाउँमा पनि यो परम्परा रहेका छन् । भूमीचुलीमा रहेको भूमीदेवीको पूजाआराधना तथा दर्शन गरेमा सुख, शान्ति, समृद्धि र आरोग्यता वृद्धि हुदै जाने, जनविश्वास रहेको छ । यसै कारणले यस आसपासका मानिसहरुले विभिन्न तरिकाले भूमी देवीको पूजा तथा आदर गर्ने गर्दछन् । सबै समयमा मानिसहरु भूमीचुलीमा नै आउन कठिन हुने हुँदा यसै भूमीदेवीको प्रतिकको रुपमा प्रत्येक गाउँगाउँमा सबैलाई पायक पर्ने उच्च स्थानमा भूमीथान स्थापना गरी पूजा आराधना गरिआएको छ । जसमा रजबासको चौकीटार, पानन्चे, सल्लेनी, बल्देउ, मच्छेगाउँ, खार्ता र मजुवा मा भूमीथानको प्रतिक स्थापना गरिएको छ । भूमीचुलीमा नयाँ वर्ष, जनै पूर्णिमा तथा फागुपूर्णिमाको दिनमा विशेष मेला लाग्ने गर्दछन् । यस बाहेक प्रत्येक औसी पूर्णिमा तथा प्रत्येक मंगलबार र शनिबार पूजाको लागी टाढा टाढा देखि भक्तजनहरुको बाक्लो उपस्थिति हुने गर्दछन् । यो भूमिचुलीको धार्मिक महत्व बोकेको स्थल होे । यसको संरक्षण तथा प्रबद्र्धन गरी भुमीचुली तथा यस आसपासको क्षेत्रहरुलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न सकिन्छ ।
२.२ भूमीचुलीको भौगोलिक तथा जैबिक विविधताको महत्व
भूमीचुलीको भौगोलिक अबस्थाको महत्व पनि उच्च रहेको छ । यस स्थानबाट नेपालको उत्तरमा रहेको अधिकांश हिमालहरुको स्पष्टसँग अबलोकन गर्न सकिन्छ । यहाँबाट पूर्वको कन्चनजंघा हिमालदेखि सर्बोच्च शिखर सगरमाथा, गौरीशंकर, दोर्जेलाक्पा, जुगल, लाङटाङ, मनासलु लगायत अन्य हिमालको मज्जाले दृष्य अबलोकन गर्न पाइन्छ । पश्चिममा अन्नपूर्ण श्रृखलाका हिमालहरु समेत यहाबाट दृश्यावलोकन गर्न सकिन्छ । दक्षिणमा नेपालको तराई फाँटको पनि मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । यसका साथै यस स्थानबाट नेपालका करिब २० वटा जति जिल्लाको उच्च भू भागहरुको अबलोकनको समेत मज्जा लिन सकिन्छ । हाल निर्माण गर्न लागिएको भ्यु टावरले यस महत्वलाई अझ उच्च बनाउने बिश्वास लिइएको छ ।
भूमीचुली जैबिक विविधताको महत्व बोकेको क्षेत्र पनि हो । उचाई अनुसार यहाँको हावापानीमा समेत विविधता भएकोले बिभिन्न हावापानी अनुरुपका जडीबुटी तथा बनस्पतिको अबलोकन गर्ने सुबर्ण अवसर यस क्षेत्रमा पाईन्छ । वन रातै हुने गरी फुल्ने विभिन्न प्रजातिको लालीगुराँसको त बयान गरी सध्य छैन । मौसमअनुसार पालुवा फेर्ने बनस्पतिहरुले सधै वनलाई रङ्गीचङ्गी र मनमोहक बनाई राख्दछ । यो वन औषधिय गुण भएका महत्वपर्ण जडीबुटीको पनि प्राक्रितिक भण्डार हो । तसर्थ यसको संरक्षण र समुच्चित विकास गर्नु हामी सबैको कर्तब्य हो । जंगलका घाँस तथा जडीबुटीमा रमाइरहेका कालिज, भ्याकुर, कोइली, हलेसो लगायतका बिभिन्न चराचुरुङ्गीहरु र मृग, हरिण, बदेल, खरायो दुम्सी, बाघ, चितुवा, वन विरालो, स्याल लगायतका जनावरहरु यहाँका सुन्दर गहना हुन । यसको संरक्षण तथा सम्बद्र्धन गर्नु हामी सबैको कर्तब्य पनि हो । यसका साथै भूमीचुलीको फेदी रजबासको चौकीटार तथा आसपासका अन्य क्षेत्रहरुबाट वन सयर गर्ने उपयुक्त पैदल मार्ग निर्माण यी जैबिक विविधताको आनन्द मानी मानी अबलोकन गर्ने ब्यवस्थाको विकास गरी पर्यटक आकर्षित गर्न सकिने देखिन्छ । यी सम्पत्तिहरु नै पर्यटकिय गन्तब्यको आधारशीलाहरु हुन् । यसमा सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।
२.३ भूमीचुली तथा यस क्षेत्रका साँस्कृतिक पक्ष
भूमीचुलीको आसपासमा बाक्लै मानव बस्तीहरु रहेका छन् । जहाँ बिभिन्न जातजातीको बसोबास रहेका छन् । रोशी ९ रजबासमा विशेष गरी मगर समूदायको बाक्लो बस्ती रहेका छन् । रजबासमा मगर बाहेक केही मात्रामा तामाङ, बाहुन, दलित र ठकुरी जातीको पनि बसोबास रहेका छन । रजबासमा यी जातजाती आफ्नै प्रकारको संस्कार तथा रितिरीवाजहरु रहेका छन् । मगर समूदायको बाहुल्य रहेको यस क्षेत्रमा विशेष प्रकारका मौलिक कला संस्कृतिहरु पनि रहेका छन् । जसमा मौलिक मारुनी गीत तथा नाच, कौह्रा गीत तथा नाच र लोक गीत तथा नाच पर्दछन् । मारुनी नाच समूदायको विशेष कला संस्कृति भएता पनि यहाँ रहेका अन्य जातजातिको पनि लोकप्रिय सँस्कृति हो । यसका साथै ज्ञानमाला भजन तथा किर्तनहरु पनि यहाँका संस्कृती हुन । यसका साथै ठाडे भाका घाँसे गीतका भाका पनि रहेका छन् तर हाल यो भाकाका गीतहरु विस्तारै कम हुदै गई रहेका छन् । यस प्रकारको कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्नु जरुरी छ । यी कला संस्कृतीहरु यस क्षेत्रका मानिसहरुको जीवन र जगतको प्रतिबिम्बन हो । साथै यी कला संस्कृतीलाई पर्यटन विकासको एक अङ्गको रुपमा विकास गर्नु आवश्यक छ । यसका साथै याहाँ मनाईने चाड पर्व पनि अर्को महत्वपूर्ण संस्कृति हो । यहाँका मानिसहरु दशै, तिहार, माघे सकराती, साउने सकराती बैशाख पूर्णिमा लगायतका अन्य विभिन्न पर्वहरु सौहार्दताका साथ मनाउने गर्दछन् । यी चाड पर्वहरु यस क्षेत्रका मानिसहरुको सहिष्णुताको केन्द्र हो । यस्ता कला संस्कृतिको संरक्षण र सम्बद्र्धनमा राज्य पक्षको पनि ध्यान जानु जरुरी छ ।
३. भूमीचुली पर्यटकिय क्षेत्र विकासको बाँकी कार्यहरु
भूमीचुलीलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने कार्य शुरुवात भएता पनि अभैm बिभिन्न चुनौतीहरुलाई पार लगाउनु पर्ने देखिन्छ । जुन निम्नानुसार छन् ।
क. पानीको सहज व्यबस्थापन गर्नु
ख. विद्युतको व्यबस्थापन गर्नु
ग. सुरक्षित रुपमा वनजंगलको अबलोकन गर्ने सहज पैदल मार्गको स्थापना गर्नु
घ. पैदल यात्रीको लागि ठाउँ ठाउँमा आराम गर्ने सुक्षित पार्क तथा पानीको ब्यबस्थापन गर्नु
ङ. जुनसुकै मौसममा पनि भूमीचुली बेसक्याम्प चौकीटारसम्म जाने आउने पक्की मोटरबाटोको निर्माण गर्नु
च. भूमीचुली भ्रमणमा आउने पर्यटकको खाना र बासको लागि रजबास क्षेत्रमा होमस्टेको विकास गर्नु
छ. किंबदन्ति अनुसारका तथ्यहरुलाई भौतिक रुपमा निर्माण तथा विकास गर्नु

साधुराम रानामगर
रोशी ९, रजबास, काभ्रे
मिति २०७७ मंसिर २३

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *