शिक्षकका व्यथा र आलोचना

शिक्षा
SHARE:

कोभिड–१९ को महामारीबाट मुलुकको प्रायः सबै क्षेत्र प्रभावित छ । त्यसमा पनि २०७६ सालको चैत ११ देखि मुलुकमा भएको लकडाउनले सबैभन्दा बढ्ता प्रभावित शैक्षिक क्षेत्र नै देखिएको छ । स्वभावैले विद्यालय क्षेत्र बढी भीडभाड हुने स्थान हो । तसर्थ वातावरण सहज नबनुन्जेलसम्म विद्यालय बन्द गर्न, पठनपाठन, परीक्षालगायतका कार्यक्रमहरू नगर्न/नगराउन पटक–पटक सरकारले उर्दी जारी गरिरहेको छ । अझ त्योभन्दा बढ्ता त, कैयौं ठाउँमा क्वारेन्टिन धानेका विद्यालयलाई तत्कालै खुल्ने/खुलाउने सम्भावना पनि न्यून छ । विद्यार्थीको पठनपाठनलाई सहजीकरण गर्ने भन्दै शिक्षा मन्त्रालयले शिक्षण सिकाइको वैकल्पिक कार्यविधि बनायो । वर्षौंदेखि किताब समाएर कक्षा कोठाको अगाडि उभिएर लेक्चर दिन बानी परेका हामी, पूरै पाठ अभ्याससहित सिकाइ दिने, कलमले ठीक/बेठीक लगाएर अंक आशा गर्ने बानी परेका विद्यार्थी, १० देखि ४ बजेसम्म स्कूल गएपछि बालबालिका धरालो गर्नबाट फुर्सद पाइने सोच्ने अभिभावकहरूलाई यो कार्यविधि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ सरह भयो ।

देशका बहुसंख्यक विद्यालय र शिक्षक, विद्यार्थी इन्टरनेटको पहुँच बाहिर छन् ।  रेडियो, टेलिभिजनको पहुँच भए पनि हामीहरूमध्ये धेरै रेडियोमा समाचार, गीत सुन्न बानी परेका छौं, टीभी भनेपछि सिरियल, कार्टुन, फिल्म भन्ने बुझ्छौं । त्यसमा कतिबेला पठनपाठन प्रसारण हुन्छ र पढौंला भनेर बानी पार्नु ? केही सुगम ठाउँका विद्यार्थी–शिक्षक जो इन्टरनेटको पहुँचमा छौं, त्यस्तालाई इन्टरनेट कनेक्ट गर्नासाथ फेसबुक, म्यासेन्जर, यूट्यूब, इमो, भाइबर आदिमा लाइक, कमेन्ट, सेयर, म्यासेजको रिप्लाई आदिमै समय गएको पत्तो हुँदैन, कतिबेला पढाइ सम्बन्धी कार्यक्रम गर्ने भन्ने समयतालिका सम्झनु ? यसको मुख्य कारण हामीमा सूचना तथा संचारका विभिन्न साधनहरू प्रयोग गरी पठनपाठन क्रियाकलाप संचालन गर्ने बानी र क्षमता नहुनु हो । मुख्यतः यो महामारीको पीडा सबैमा छ, डर–त्रास सबैलाई छ तर त्योभन्दा बढी शिक्षक–विद्यार्थीलाई छ । एकातिर उनीहरू दैनिक कर्तव्यबाट विमुख हुँदैछन् भने, नियमित पठनपाठन, परामर्शको अभावमा मानसिक तनाव, उच्च संवेग जस्ता समस्या देखा परेका छन् । अर्कातिर धेरै विद्यार्थीको उमेर समूह खेर जाने र पढाइप्रति वितृष्णा पैदा भई पढाइ छोड्ने दर बढ्ने देखिएको छ । विशुद्ध शिक्षण पेशा भएका शिक्षकहरूलाई दिन कटाउन झनै मुश्किल भएको छ ।

हाम्रो व्यथा

म एक मामुली शिक्षक–  सुर्खेत घर भई स्याङ्जाको सरस्वती माविमा अध्यापनरत । शिक्षण बाहेक अन्य कुनै पेशा नभएको शिक्षक हुनुको नाताले आफ्नो जिम्मेवारी र कर्तव्यबोध हुनु धर्म नै होला । विद्यालय र विद्यार्थीको भविष्यको चिन्ता नहुने कुरै भएन । लकडाउनकै अवस्थामा वैकल्पिक तरिकाले पठनपाठन प्रयास नगरिएको पनि होइन तर स्रोतसाधनको अभावमा सम्भव भएन । लकडाउन खुलेलगत्तै विद्यालयको सल्लाह बमोजिम प्रत्यक्ष रूपमै आलोपालोमा पठनपाठन गर्ने निर्णय भएपछि २०७७ असारको दोस्रो साता सुर्खेतबाट पास बनाएर दुःख–कष्टका साथ विद्यालय पुगियो । आफ्नै खर्चमा आरडीटी परीक्षण गरी नियमित काममा लागियो । नर्सरीदेखि कक्षा–१० सम्मलाई हप्ताको दुई/दुई दिन विद्यालयमा बोलाएर पठनपाठन संचालन गरियो । संक्रमणका दृष्टिले कम जोखिमपूर्ण ठाउँ, थोरै विद्यार्थी संख्या, एक मिटर दूरी कायम गरेर पनि कक्षाकोठामा अटाउन सक्ने, स्यानिटाइजर, मास्कसहित पठनपाठन संचालन गरियो । तर स्थानीय सरकार र जिल्लाको शिक्षा इकाइले हाजिर गर्ने अनुमति भने दिएनन् । साउनको दोस्रो साता प्रहरी प्रशासनले जिल्लाको आदेश भन्दै तुरून्तै विद्यालय बन्द गर्ने अन्यथा विद्यालय प्रशासनलाई कानून बमोजिम कारबाही गर्ने भनेपछि विद्यालय बन्द गरियो ।

न विद्यालय खुल्ने र हाजिरी गर्न पाइने न पठनपाठन गर्ने खालि बेरोजगार हल्लिनु भन्दा पुनः घरतिर फर्कने निर्णयसहित आफ्नो बाटो लागियो । पुनः केही समयपश्चात कार्यक्षेत्र फर्कौं भन्दा साउन २९ गतेसम्म जिल्ला प्रशासनले प्रवेश निषेधको सूचना जारी गरेको रहेछ भने बाँके, कपिलवस्तु, दाङमा निषेधाज्ञा थियो । प्रशासनबाट पास उपलब्ध हुन सकेन र बाटो तताउन सकिएन । साउन २८ गते गृह मन्त्रालयले अन्तर जिल्ला पास दिन बन्द गर्ने सूचना जारी गरेपछि त झनै सम्भव भएन । आफ्नो पेशाप्रति कर्तव्यबोध हुँदाहुँदै पनि यस्तो विषम परिस्थितिले कर्तव्य निर्वाह गर्न सकिएको छैन । विभिन्न आलोचनाले आफैंलाई चसक्क घोचेझैं हुने नै भयो । म त एउटा प्रतिनिधिमूलक पात्र मात्रै हुँ म जस्ता हजारौं यस्ता शिक्षकहरूको यस्तै पीडा छ । तसर्थ कसरी कार्य क्षेत्रमा पुग्ने र दैनिक कामकाजमा संलग्न हुने सम्बन्धित निकायले प्रष्ट र निर्वाध व्यवस्था गरोस् ।

राज्यका तीनै तहका सरकारको शिक्षण सिकाइ प्रक्रिया संचालन सम्बन्धी अकर्मण्यता, अक्षमता, योजना र भिजनको अभाव, निर्दिष्ट अधिकार लागू गर्न नसक्नु आदि जस्ता कारणले गर्दा आज नेपाली शिक्षक वर्ग ठूलो मर्कामा परेको छ । सरकारी निकाय र पदाधिकारीहरूको अकर्मण्यताका कारण आज शिक्षकलाई बदनाम गर्ने काम भइरहेको छ । सामाजिक संजालहरूमा दिनहुँ देखिने क्रिया–प्रतिक्रियाले मुलुकको शिक्षा क्षेत्र र शिक्षणप्रतिको दृष्टिकोण छताछुल्ल भएको छ । हुनत नेपालमा विगत केही समयदेखि नै राज्य तथा विभिन्न निकाय र समुदायस्तरमा पनि हेयको भावनाले हेर्ने गरिन्छ तापनि यो महामारीको बीचमा अझ बढी आलोचना गरिएको छ ।

शिक्षक मासिकमा राष्ट्रिय परीक्षा बोर्ड; कर्णाली प्रदेश प्रमुख जीतबहादुर शाहले लेख्नुभएको छ– ‘विद्यालय संचालनको विरोध गर्ने शिक्षकलाई विद्यालय संचालनको पक्षमा रहेका शिक्षकलाई भन्दा बालबालिका, नागरिक समाज र देशको माया छ क्यारे ! यस्तै माया लाग्दालाग्दै विद्यालय नगएरै एक चौमासिकको तलब भत्ता गोजीमा हालियो क्यारे ! यही पाराले अर्को चौमासिक पनि बुझ्ने बेला आउँदैछ । शायद यो पाराले त त्यतिबेलासम्म सरकार पनि कंगाल भैसक्छ होला । शायद त्यतिबेला बालबालिका र सरकारको माया गरेर विद्यालय खोल्नु हुन्न भन्ने शिक्षकले हामीले नपढाएको अवधिको तलब भत्ता नलिएर सरकारलाई सहयोग गर्छौं भन्न सकेमा कति महानता झल्किन्थ्यो होला ?’

शिक्षक मासिकमा भूपाल सिंह ठकुरीले लेख्नु भएकाे लेख ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *