यहाको शुभ नामः के हो ?
मेरो नाम साधुराम रानामगर हो ।
काम गरेको विद्यालयः कुन होला ?
मैले काम गरेको विद्यालय श्री विन्ध्यवासिनी मा.वि. मंगलटार ८ रजवास हो ।
यहाले अध्ययन गरेको तह र विषय?
बि.एड., नेपाली
तपाइले कहिले बाट यो शिक्षण पेश शुरु गर्नु भयो ?
२०६० देखि निजी श्रोत र २०६८ देखि प्रा.वि. अस्थाई र २०७६ सालमा स्थायि भइ काम गरिरहेको छु ।
अध्यापन गर्ने कक्षा र विषय के हो ?
म कक्षा ४मा कक्षा शिक्षण गर्छु ।
तपाई कक्षा शिक्षण गर्नुहुदो रैछ । तपाइमा कक्षा शिक्षण गर्दाको अनुभव केही होला ?
अत्यन्तै खुशी लाग्छ, किनकी ति साना साना बालबालिकासँग हाँस्दै खेल्दै सिकाउन र सिक्न पाईन्छ । जिज्ञासु बालबालिकाको सोच र विचार सँग घुलमिल हुँदा त झनै खुशी लाग्छ ।
कक्षा शिक्षण गर्दा हुने फाइदा र वेफाइदा के के होला ?
बालबालिकासँग रमाईलोसँग सिकाई कार्यमा घुलमिल हुन पाउनु, बालबालिकालाई अभिभावकत्वको महसुस हुनु, बालबाललिकाको व्यक्तिगत आनि बानि, ब्यवहार र शैक्षिक अवस्थाको जानकारी हुने, सोहि अनुसार शिक्षण गर्न र मूल्याङ्कन गर्न सकिने आदि यसका फईदा हुन् । सबैसँग सबै विषयको विषयगत दक्षता हुन नसक्ने भएकोले सबै विषयमा विद्यार्थीहरु अब्बल हुन नसक्ने, पूर्ण वर्षभरि एउटै कक्षामा शिक्षण सिकाईमा सहभागि भईरहँदा कहिले काहि दिक्क महसुस हुने, सबैले सबैको आनी बानी थाहा पाउने हुदा बालबालिका शिक्षकले भनेको नमान्ने जस्ता समस्या कक्षा शिक्षणका बेफाईदा हुन् ।
समग्र तपाइले काम गरिरहेको विद्यालयको शिक्षाको अवस्था कस्तो छ ?
म कार्यरत विद्यालयको शैक्षिक अवस्था तुलनात्मक रुपमा सामूदायिक विद्यालयको दाँजोमा राम्रो देखिन्छ । यसको पुष्टि विद्यालयको वार्षिक कार्यक्रम तथा वार्षिक नतिजा हुन् ।
साथै समग्र देशको शिक्षाको अवस्थाको बारेमा तपाइलाई कस्तो लागेको छ ?
देशको शैक्षिक अवस्था बडो दुःख लाग्दो छ । शैक्षिक क्षेत्रमा राजनितिकरण भएको छ । सरकारले तय गरेको लक्ष्य पूरा गर्न नसकेको समाचार सुनिरहनु परेको छ । शिक्षकको उचित व्यवस्थापन हुन सकेको छैन । पाठ्यपुस्तक लगायतका शैक्षिक सामग्रीको उपलब्धता भद्रगोल अवस्थामा छन् । विदेशी सहयोग भित्र्याउने बाहेक देश र माटो सुहाउदो शिक्षा र ज्ञानको उपलब्धि देखिदैन ।
तपाइको विचारमा बिद्यार्थीहरुलाई कारवाही वा दण्ड दिनु ठिक वा वेठिक र किनः?
कारवाहि गर्नु बेठिक हो, किनभने बालबालिकाको कलिलो मनस्थिति हुने हुनाले के गर्नु उपयुक्त र के गर्नु अनुपयुक्त भन्ने कुरा नै छुट्याउन नै सक्दैनन् । तपाई आफै भन्नुहोला यस्तो बेला बालबालिकालाई दण्ड सजाय दिनु ठीक होला कि सम्झाउनु ठीक होला ? अवस्य नै सम्झाएर सहि बाटोमा दोहोर्याउनु राम्रो हो ।
तपाईले विद्यार्थीलाई शिक्षाको महत्व कसरी बुझाउनु हुन्छः ?
राम्ररी पढ्यौ भने धेरै असल कुराहरु थाहा पाउन सकिन्छ, अनि ज्ञानी बन्छौ । सबै मान्छे पढेरै असल बनेका छन् । विश्वमा नपढेर कोहि पनि असल बनेका छैनन् । विश्वमा देखिएका नयाँ नयाँ टेक्नोलोजी शिक्षाबाट नै सम्भव भएको हो । कृषि कै कुरा गर्ने हो भने शिक्षित व्यक्तिले कुन बाली कहिले, कसरी र कहाँ लगाउने भन्ने कुरा बिभिन्न मिडियामा हेरेर, सुनेर र पढेर आफै गर्न सक्छ, तर पढिएन भने सबै अरुको भरमा गर्नु पर्छ । जसको कारण उपलब्धि न्युन वा शुन्य हुन्छ । नेपालका अधिकांश किसान नपढेकै कारण कृषिमा उपलब्धि देखिएको छैन । जस्ता उदाहरण दिएर सम्झाउछु ।
तपाईले शिक्षण गर्दाका अफ्ठ्याराहरु के के छन् ?
पर्याप्त तालिम तथा निर्देशनको अभाबमा शिक्षण विधिको उचित प्रयोग गर्न समस्या परेको छ । स्थानिय स्तरमा पर्याप्त शैक्षिक सामग्री भए पनि सीप तथा दक्षताको अभावले उच्चतम रुपमा उपयोगमा ल्याउन सकिएको छैन आदि आदि ।
तपाइले समाजमा शिक्षकलाई हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ?
शिक्षक पेशा मर्यादित पेशा भएकोले शिक्षक भएकोमा गर्व लाग्छ, तर सरकारी तवरबाट नै पेशाको बर्ग छुट्याई हेर्ने दृष्टिकोण देख्दा भने दिक्क लाग्छ । कतिपय शिक्षित बर्गले यसैको सिको गरेको देख्छु, सुन्छु ।
देशकै शिक्षा क्षेत्रमा सुधार गर्नु पर्ने कुरा(पक्ष)हरु के के हुन सक्लान ?
देशकै शिक्षा क्षेत्रमा सुधार गर्नु पर्ने कुरा(पक्ष)हरु भनेर साध्यै छैन । तर पनि भन्नै पर्दा दिगो सरकार र दुरदृष्टि भएका राजनेताको आवश्यक छ ।
अन्तमा भन्नुपर्दा ः
सबै शिक्षकहरुले शिक्षक भएकोमा गर्व गर्नुपर्छ, किनभने हामी समाज परिवर्तनका संवाहक हौं । त्यसैले हामी शिक्षकहरु उदाहरणिय व्यक्ति बन्न सक्नु लर्छ । हामीले असल शिक्षा दिन सके मात्रै हाम्रा बालबालिका असल बनी समाज र राष्ट्रको हित गर्न सक्छ । हामी शिक्षकहरुले समय सापेक्ष व्यक्तित्व विकास गरी बालबालिकाको मनस्थिति नयाँ बनाउनु जरुरी छ । हिजो कै विचार र सोंचले अब समाज परिवर्तन हुनेवाला छैन, न त मर्यादित पेशा नै हुनेवाला छ ।
प्रस्तुत कर्ता । बिनोद बजगाई